एएनएमसीमा साउने सोमबारको रौनक

नेपाली हिन्दु समाजमा साउनको सोमबारलाई विशेष रुपमा हेरिन्छ। साउन महिनाको हरेक सोमबार शिवजीको विशेष पूजा आराधना गरिने यो परम्पराले अष्ट्रेलियाको नेपाली समुदायमा पनि निरन्तरता पाएको छ।
नेप्लीज मल्टिकल्चरल सेन्टरमा रहेको नेपाली मन्दिरमा साउने सोमबारमा शिवजीको आराधनासहित विशेष पूजा तथा आरती सञ्चालन भइरहेको छ । नेपालमा पशुपतिनाथमा हरेक दिन गरिने आरतिकै झझल्को दिलाउने गरी पण्डित बालव्यास श्रवणले आरतीको नेतृत्व गर्नुभएको छ। विहान ७ बजेबाट नै खुल्ने मन्दिरमा साँझ ५ बजेबाट भजन, कीर्तन सुरु हुने गर्दछ । यस्तै सन्ध्या आरति साढे पाँच बजेबाट हुने गरेको छ ।
कार्यक्रमका संयोजक दिपक आचार्यले पूजा तथा आरती कार्यक्रम सयौं श्रद्धालुहरुको सहभागितामा व्यवस्थित तथा भव्य बनिरहेको जानकारी गराउनुभएको छ ।
साउने सोमबारमध्ये अन्तिम सोमबार १२ अगष्ट अर्थात् अबको सोमबार महारुद्राभिषेक गरिने भएको छ ।