श्रावण महिनाको अन्तिम सोमबार विशेष शिव पूजाका साथमा महारुद्राभिषेक सम्पन्न

अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरमा श्रावण महिनाको अन्तिम सोमबार विशेष शिव पूजाआजा, आरती, भजन कृतनको साथमा महारुद्राभिषेक सम्पन्न भएको छ।

यहाँको नेपाली मन्दिरमा श्रावण महिना लागेसँगै हरेक सोमबार विशेष पूजाआजा हुँदै आएको थियो। श्रावणको अन्तिम सोमबार बाल व्यास श्रवण गुरुको विशेष उपस्थितीमा महारुद्राभिषेक भव्यताका साथ सम्पन्न भएको हो ।

मन्दिरमा पूजाआजाका लागि बिहानैबाट भक्तजनहरुको घुईचो लागेको थियो। श्रद्धालुहरुको उपस्थितीमा बेलुका ५ बजेबाट मन्दिरमा भजन कृतन शुरू भएको थियो भने साढे ५ बजेबाट पशुपतिको झल्को दिनेगरी सन्ध्या महाआरती गरिएको थियो । ७ सय भन्दा बढी श्रद्धालुहरुको उपस्थिति रहेको साउनको अन्तिम सोमबार यहाँको सम्पूर्ण नेपाली समुदायका लागि नै विशेष बन्यो ।

विशेष अतिथिको रुपमा आएका बाल व्यास गुरुले दिएको प्रवचन र मन्दिरका पण्डित नारायण प्रसाद ज्ञवालीको उपस्थितीमा श्रद्धालुहरुले शिवको पूजाआजा गरे । पण्डित ज्ञवालीले सहजीकरण गरेको उक्त भव्य समारोहमा दिनेश थापा, डिबी कालिज, विश्वराज जोशी, गोविन्द भण्डारी लगायतले भजनकृतनको अगुवाई गरेका थिए भने नेपालबाट आएका अभिभावकहरुले समेत निकै उत्साहजनक सहभागिता जनाएका थिए ।

त्यस्तै अभिभावकहरुको लागि केही नेपाली सामुदायिक संस्थाहरुले निशुल्क यातायातको व्यवस्था समेत गरेका थिए । नेपलीज एसोसिएसन अफ भिक्टोरिया र एनआरएनए भिक्टोरियाले यो विशेष दिनको कार्यक्रम सम्पन्न गर्नका लागि सामुदायिक सहकार्यको रुपमा सहयोग गरेका थिए ।

Related Articles

Back to top button